काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतको संसदीय सुनुवाइ गर्ने भएको छ ।
समितिको बैठक आज बिहान ९:१५ बजे सार्वजनिक लेखा समितिको सभाहलमा बस्ने तय भएको छ ।
समितिले असोज २३ गते सूचना प्रकाशित गर्दै १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ तथा उनीहरूविरुद्ध परेका उजुरीमाथि छलफल गर्ने कार्यसूची सार्वजनिक गरेको थियो । सोहीअनुसार आज असोज २६ गते बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएका उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ्ग थापा र बेलायतका लागि गौरवशमशेर जबरालाई राजदूतमा प्रस्ताव गरेको छ ।
संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।





