चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु

चितवन । बर्सातका कारण गत असार १७ गतेदेखि बन्द रहेको चितवन राष्ट्रिय निकुञ्जभित्रको जिप सफारी पुनः सुरु गरिएको छ। निकुञ्जभित्रका सडक मर्मत तथा सरसफाइको काम सम्पन्न भएपछि असोज २३ गतेदेखि सफारी सञ्चालनमा ल्याइएको हो।

निकुञ्जभित्र वर्षाका कारण बिग्रिएका सडक मर्मत गर्ने, ढलेका रूख हटाउने र झाडी फाँड्नेलगायतका काम सम्पन्न भएपछि सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।

उनका अनुसार असोजको दोस्रो साता आएको बाढीले जंगल सफारीका मार्गमा क्षति पुर्‍याएपछि सफारी सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो।

निकुञ्जभित्र जिप सफारी बन्द रहे पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप र हात्ती सफारी नियमित रूपमा सञ्चालन हुँदै आएका थिए।

चितवन राष्ट्रिय निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालन हुने गरेका छन्। ती जिपमार्फत पर्यटकले निकुञ्जभित्र घुमफिर गर्दै वन्यजन्तुको अवलोकन गर्ने गर्छन्।

निकुञ्जमा विशेषगरी दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्। जिप सफारी पुनः सञ्चालनमा आएसँगै निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।