अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा एक करोड चार लाख ८५ हजार ४९८ रुपैयाँ सहयोग संकलन गरेको छ । मनसुनजन्य विपद्बाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा विभिन्न सङ्घसंस्था, व्यवसायी, राजनीतिक दल तथा व्यक्तिहरूले सहयोग गरेका हुन् ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार पर्यटन व्यवस्थापन समिति, स्थानीय सङ्घसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट उक्त रकम संकलन भएको हो । संकलित रकमबाट विपद्पछिको तत्कालीन राहत वितरण, सडक मर्मत तथा पुनर्निर्माणका काममा सहयोग पुगेको उनले बताए ।

गाउँपालिकाका अनुसार विपद्बाट भएको क्षतिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि हालसम्म ६६ लाख ६५ हजार ५४३ रुपैयाँ खर्च भएको छ । यस वर्षको मनसुनमा आएको बाढीपहिरोले सडक, पुल, निजी घर, होटल, धार्मिक तथा पर्यटकीय संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माणका काम अघि बढाइएको हो ।

गण्डकी प्रदेश सरकारले पुनर्निर्माणका लागि दुई हजार ४७५ घनमिटर ग्याबिन जाली उपलब्ध गराएको थियो । विभिन्न जलविद्युत् आयोजना तथा नेपाली सेनाले श्रमदान र प्राविधिक सहयोगसमेत गरेका थिए ।

मोदी र किम्रुङ खोलामा आएको बाढीपहिरोले क्षति पुर्‍याएको बिरेठाँटी–घान्द्रुक सडकको पुनर्निर्माण तथा संरक्षणमा ठूलो रकम खर्च भएको अध्यक्ष केसीले बताए । उनका अनुसार इन्धनमा १९ लाख ७९ हजार ६५० रुपैयाँ, ग्याबिन जाली निर्माणका लागि श्रमिक व्यवस्थापनमा ११ लाख ६४ हजार ९०४ रुपैयाँ तथा ढुङ्गा र ब्याकफिलिङ सामग्री ढुवानीका लागि ट्याक्टर, ब्याकलोडर र टिपर भाडामा १८ लाख ६९ हजार १८९ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, अन्य उपकरण तथा निर्माणसम्बन्धी काममा आठ लाख ४६ हजार ५३५ रुपैयाँ, निर्माण सामग्री खरिदमा एक लाख ३० हजार १६८ रुपैयाँ, जिओटेक्सटाइल खरिदमा ८२ हजार ४९० रुपैयाँ र ग्याबिन जाली खरिदमा ९९ हजार ७९० रुपैयाँ खर्च गरिएको छ । उद्धार तथा पुनर्निर्माणमा खटिएका सुरक्षाकर्मी र सहयोगीका लागि खाना, खाजा तथा अन्य व्यवस्थापनमा समेत रकम खर्च भएको गाउँपालिकाले जनाएको छ ।

बाढीले सडक र पुलमा क्षति, आवागमन अवरुद्ध

मोदी खोलामा आएको बाढीले गाउँपालिका–८ को बिरेठाँटी बजार क्षेत्रमा करिब १०० मिटर कालोपत्रे सडक कटान गरी बगाएपछि बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो । चिम्रुङ–स्याउलीबजार क्षेत्रमा पनि करिब १५० मिटर सडक क्षतिग्रस्त भएको थियो ।

सडक तथा पुलमा भएको क्षतिका कारण गाउँपालिका–८, ९, १० र ११ का बासिन्दाको नयाँपुल, पोखरा तथा पर्वतातर्फको आवागमन प्रभावित भएको थियो । बाढीले स्याउलीबजार–हल्लाली जोड्ने झोलुङ्गे पुल, घुर्जुङ क्षेत्रका पुल तथा माता अन्नपूर्ण मन्दिर क्षेत्रमा रहेका फलामे पुलमा समेत क्षति पुर्‍याएको गाउँपालिकाले जनाएको छ ।

विपद्का कारण अन्नपूर्ण आधार शिविर जाने पर्यटकीय मार्गका विभिन्न संरचनामा क्षति पुगेपछि पर्यटन व्यवसायसमेत प्रभावित भएको थियो । पदमार्ग र सडक अवरुद्ध हुँदा होटल व्यवसायी, पर्यटक गाइड, भरिया तथा स्थानीय व्यापारीको आम्दानीमा असर परेको अध्यक्ष केसीले बताए ।

“अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा अवरोध, पुलमा क्षति तथा तातोपानी कुण्ड नष्ट हुँदा आन्तरिक र बाह्य पर्यटकको आवागमन प्रभावित भएको थियो । सबैको सहयोगमा पदमार्गहरू खुला गरेका छौँ । अहिले पुनः पर्यटक आगमन सुरु भएको छ,” उनले भने ।

मानवीय क्षति हुन पाएन

मनसुनजन्य विपद्बाट अन्नपूर्ण गाउँपालिका क्षेत्रमा मानवीय क्षति नभए पनि भौतिक पूर्वाधारमा ठूलो नोक्सानी भएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताए । उनका अनुसार पूर्वसूचना प्रणाली, स्थानीयस्तरमा गरिएको सचेतना तथा सुरक्षा निकायको समयमै परिचालनले मानवीय क्षति हुन नदिन महत्वपूर्ण भूमिका खेलेको थियो ।

उनले बिरेठाँटी–घान्द्रुक सडकको स्थायी मर्मत, क्षतिग्रस्त पुलको पुनर्निर्माण, प्रभावित परिवारलाई राहत तथा पुनःस्थापना सहयोग र जोखिम नक्साङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यस्तै, भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली वडा तहसम्म विस्तार गर्न आवश्यक रहेको उनले उल्लेख गरे । ठूला पुनर्निर्माण आयोजना सम्पन्न गर्न प्रदेश तथा सङ्घीय सरकारसँग थप बजेट र प्राविधिक सहयोग माग गरिएको बरालले जानकारी दिए ।