भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ ।

भारतको लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती जात नेपालमा भित्र्याइएको हो । बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपाल ल्याएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव निशाले आयोजित कार्यक्रममा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई उखुका चार उन्नत जातका बीउ हस्तान्तरण गरिन् ।

राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका संयोजक दिलराज यादवका अनुसार भारतबाट ल्याइएका उखुका ती जातमा उत्पादकत्व र चिनीको मात्रा बढी छ । ती जातको प्रवर्द्धनले उखुको गुणस्तर र उत्पादन बढाउनुका साथै किसानको आम्दानी वृद्धि गर्न तथा चिनी मिलको उत्पादन सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा हाल करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । यहाँ उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० मेट्रिक टन रहेको छ ।