गण्डकी । प्रमुख पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाअन्तर्गत संयुक्त पर्यटन प्रवर्द्धन अभियान अघि बढाइने भएको छ ।
तीनवटै गन्तव्यको पर्यटन विकास, प्रचारप्रसार, असल अभ्यासको आदानप्रदान तथा आपसी सहकार्यलाई प्रभावकारी बनाउन पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाले यसअघि गरेको समझदारी कार्यान्वयनका लागि पहल थालेका हुन् ।
यसैक्रममा भरतपुर महानगरपालिकाले सोमबार सरोकार भएका पक्षसँग अन्तरक्रिया गर्दै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनका लागि सुझाव सङ्कलन र आगामी कार्ययोजनाबारे छलफल गरेको छ । कार्यक्रममा तीनवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा र पर्यटन व्यवसायीले संयुक्त रूपमा पर्यटन विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिक पर्यटन, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृति तथा सम्पदासँग जोडेर प्रवर्द्धन गर्नुपर्ने बताए । उनले पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतामा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तीनवटै सहरको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको योगदान बढाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए । गत जेठमा भएको समझदारीअनुसार कार्यक्रमलाई महानगरको नीति, योजना तथा कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिए ।
आचार्यले व्यवसायदेखि व्यवसाय (बीटुबी) र सरकारदेखि सरकार (जीटुजी) बीचको सहकार्यलाई ठोस रूपमा अघि बढाउनुपर्ने बताए । नेपाल आउने पर्यटकले पोखरा, चितवन र लुम्बिनीलाई एउटै भ्रमण प्याकेजमा समेट्न सक्ने गरी यातायात सम्पर्क तथा पर्यटकीय सेवासुविधा विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्नुपर्ने बताइन् । उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न सामूहिक पहल आवश्यक रहेको उल्लेख गरिन् ।
पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए । प्राकृतिक विपद्का कारण पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्न नेपाल खुला र सुरक्षित गन्तव्य हो भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनुपर्ने उनले धारणा राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी योजना बनाउनुपर्ने बताए । चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीनवटै स्थानीय तहबीच व्यावसायिक सञ्जाल विस्तार र संयुक्त प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले डिजिटल माध्यमको प्रयोगबाट पर्यटकीय गन्तव्यको प्रचारप्रसार विस्तार गर्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोडिएका तीनवटै गन्तव्यको विकासका लागि सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गर्दै छिट्टै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गरिने जानकारी दिए ।
गत जेठ २६ गते तीनवटै स्थानीय तहबीच भएको समझदारीपत्रमा प्रत्येक वर्ष पालैपालो ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला आयोजना गर्ने व्यवस्था छ । त्यस्तै, आवश्यकताअनुसार बीटुबी तथा जीटुजी बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान अघि बढाउने उल्लेख छ ।
समझदारीअनुसार तीनवटै गन्तव्यको प्रचारप्रसारका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिनेछ । पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउन डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजनासमेत रहेको छ । सोही योजनाअन्तर्गत भरतपुर महानगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको डिजिटल सूचना बोर्डको सोमबार शुभारम्भ गरिएको छ ।
समझदारीपत्रमा पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड र विकास साझेदार संस्थासँग समन्वय गर्ने विषय पनि समेटिएका छन् ।
पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर एकीकृत पर्यटकीय प्याकेज विकास गर्ने योजना रहेको छ । यसबाट तीनवटै गन्तव्यको प्रचारप्रसार विस्तार हुनुका साथै पर्यटकको बसाइ अवधि, पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।






