विवादित अडियोबारे खगेन्द्र सुनारको स्पष्टीकरण : चरित्रहत्या गर्ने षड्यन्त्र भएको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो सार्वजनिक भएपछि त्यसबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

मंगलबार बिहान फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै सुनारले सोमबार बाहिरिएको अडियो आफ्नो नभएको जिकिर गरेका हुन्। कुनै काल्पनिक पात्र खडा गरी प्रविधि वा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरेर अडियो तयार पारिएको र त्यसलाई आफूविरुद्ध प्रचार गरिएको उनको दाबी छ।

संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारबारे प्रश्न उठाएकै कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको सुनारले बताएका छन्। प्रहरीभित्रका अनियमितताविरुद्ध आवाज उठाएपछि प्रहरी नेतृत्वबाट आफूलाई धम्की दिने काम भएको उनको आरोप छ।

आफूमाथि मुद्दा दायर नभएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालको दुरुपयोग गरेर आफ्नो तथा अन्य व्यक्तिको चरित्रहत्या गर्ने प्रयास गरिएको उनले जिकिर गरेका छन्।

सुनारले आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पार्दै पार्टी, संसद् र राज्यका सम्बन्धित निकायबाट हुने निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्।

आफूले कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको प्रमाणित भएमा पार्टीको केन्द्रीय समिति र सांसद पदबाट निलम्बित हुनसमेत तयार रहेको उनको भनाइ छ। त्यति मात्र नभई हत्कडी लगाएर भए पनि कानुनअनुसार जुनसुकै सजाय भोग्न तयार रहेको उनले बताएका छन्।