चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ (चितवन) – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ। सङ्क्रमितमध्ये जिल्लाभित्रका १४२ जना र अन्य जिल्लाबाट उपचारका लागि आएका ९२ जना रहेका छन्।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गर्दा २३४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ४६ जनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये १८ पुरुष र २८ महिला छन्। त्यस्तै, भरतपुर महानगरपालिकामा नौ पुरुष र २३ महिलासहित ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यसैगरी खैरहनी नगरपालिकामा २२, राप्ती नगरपालिकामा २०, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ।

कार्यालयको तथ्याङ्कअनुसार स्क्रब टाइफसबाट सङ्क्रमित हुनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ। जिल्लाभित्रका १४२ सङ्क्रमितमध्ये ५२ पुरुष र ९० महिला छन्। त्यसैगरी, बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ सङ्क्रमितमध्ये ३४ पुरुष र ५८ महिला रहेका छन्।

हालसम्म चितवनमा स्क्रब टाइफसका कारण कसैको पनि मृत्यु नभएको कार्यालयले जनाएको छ।

के हो स्क्रब टाइफस, कसरी सर्छ?

स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो। सङ्क्रमित मुसामा पाइने सूक्ष्म किर्ना (माइट वा चिगर) को टोकाइबाट यो रोग मानिसमा सर्छ।

जुम्राभन्दा सानो हुने भएकाले उक्त किर्ना प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन। यो विशेषगरी मुसाको शरीर वा कानमा बस्ने गर्छ। घाँस तथा झाडीमा रहेका सङ्क्रमित किर्ना मानिसको सम्पर्कमा आउँदा रोग सर्न सक्छ। तर, स्क्रब टाइफस मानिसबाट मानिसमा भने सर्दैन।

यो रोग लागेमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, जोर्नी दुख्ने, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिनेजस्ता लक्षण देखिन सक्छन्।

किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ देखिनु स्क्रब टाइफसको प्रमुख सङ्केतमध्ये एक हो। समयमै उपचार नगरेमा यसले फोक्सो, कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्‍याउन सक्छ। गम्भीर अवस्थामा अङ्गले काम गर्न छाड्ने तथा मृत्युसमेत हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

भेक्टर कन्ट्रोल निरीक्षक केसीले यस मौसममा स्क्रब टाइफसको जोखिम कायम रहने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। उहाँले घर वरपरका झाडी सफा राख्न, खेतबारीमा काम गर्दा तथा घाँसपात गर्दा शरीर ढाक्ने लुगा लगाउन र रोगका लक्षण देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन सुझाव दिनुभएको छ।