भोटेकोशी बाढीका मृतकको घेवामा प्रचण्ड सहभागी

बेत्रावती । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन्।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले विशेष पूजा गरेका हुन्। पूजामा सहभागी प्रचण्डले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकहरूको आत्मशान्तिको कामना गरे।

भोटेकोशी बाढी गएको ४९औँ दिनको अवसर पारेर दिवंगतहरूको सम्झनामा उक्त पूजा आयोजना गरिएको हो।

बाढीका कारण घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावतीस्थित उत्तरगयाधाम पुगेका थिए।