उदयपुर– उदयपुरमा प्रहरीले १५९ किलो ४०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति साफी रहेका छन्।
जिल्लाको बेलका नगरपालिका–५ स्थित सुपाडे देउरालीबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
प्रहरी चौकी लालबजारबाट ट्राफिक प्रहरीसहित खटिएको संयुक्त चेकिङ टोलीले रामपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५२९० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो। पिकअपमा भुसका बोराले छोपेर लैजाँदै गरिएको अवस्थामा छ वटा बोराभित्र १५९ किलो ४०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साफी, बरामद गाँजा र पिकअप गाडीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखिएको छ।
यसैबीच, उदयपुर प्रहरीले दुई दिनको अवधिमा एक हजार ६०० किलोभन्दा बढी गाँजा बरामद गरेको जनाएको छ।





