सैँ मनाउन एक लाखभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको संख्या बढ्दै गएको छ। घटस्थापनादेखि मंगलबारसम्म १ लाख ९ हजार ६३६ जनाले उपत्यका छाडेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा १७ हजार १३९ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाहिरिएका हुन्। उपत्यका छाड्नेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला रहेका छन्।

दसैँ नजिकिएसँगै अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बस्दै आएका नागरिक आफ्नो घर फर्किन थालेका छन्। यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख नाका तथा सार्वजनिक यातायातमा चहलपहल बढेको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ।

चाडपर्वका बेला यात्रुको आवागमन सहज बनाउन, सवारी चाप व्यवस्थापन गर्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको काफ्लेले बताए। यात्रुको सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उनको भनाइ छ।

उनले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे ध्यान दिन यात्रुलाई आग्रह गरेका छन्। यात्रु तथा चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनले बताए।

यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।

यद्यपि, दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै मुख्य नाका तथा सडकमा सवारी चाप थपिन सक्ने भएकाले यात्रा समय लम्बिन सक्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए।

उनले यात्रुको चापलाई ध्यानमा राख्दै ट्राफिक नियम पालना गर्न, सुरक्षित गतिमा सवारी चलाउन र सवारीसाधनको क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्नेमा जोड दिए।

दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी पर्व मनाउन उपत्यका छाड्नेको संख्या आगामी दिनमा अझै बढ्ने अनुमान गरिएको छ। यात्रुको चाप बढ्ने क्रमसँगै सार्वजनिक यातायातको व्यवस्थापन र सडक सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।