चितवन । भरतपुर महानगरपालिकाका राजमार्ग, बजार तथा संवेदनशील क्षेत्रलाई सीसी क्यामेराको निगरानीमा राखिएको छ। भरतपुर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा ४१८ वटा नयाँ सीसी क्यामेरा जडान गरिएसँगै महानगरको सुरक्षा निगरानी प्रणाली थप प्रभावकारी बनाइएको हो।
यसअघि जडान गरिएका चालु अवस्थामा रहेका २०४ वटा सीसी क्यामेरालाई समेत नयाँ प्रणालीमा आबद्ध गर्ने काम भइरहेको छ। सबै क्यामेरा एकीकृत भएपछि महानगरभित्र कुल ६२२ वटा सीसी क्यामेराबाट निगरानी गरिनेछ।
जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा नियन्त्रण कक्ष (कन्ट्रोल रुम) स्थापना गरी अनुगमन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार क्यामेराको निगरानी तथा सञ्चालनका लागि नेपाल प्रहरीका १० जनालाई एक साताको तालिम प्रदान गरिएको छ।
महानगरपालिकाले पनि क्यामेरा अनुगमनमा खटिने प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरेको छ। एकीकृत नियन्त्रण कक्षबाट महानगरका विभिन्न स्थानमा जडान गरिएका क्यामेराको निगरानी गरी ट्राफिक नियम उल्लङ्घन गर्ने तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पहिचान गर्न र आवश्यक कारबाही अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पूर्वपश्चिम राजमार्गको टिकौली तथा नारायणगढ–मुग्लिन सडकखण्डको ओरालोमा स्वचालित नम्बर प्लेट पहिचान र सवारीसाधनको गति मापन गर्ने प्रणालीसहितका क्यामेरा जडान गरिएका छन्।
त्यसैगरी मुग्लिन, रामनगर, पुलचोक र रत्ननगरमा स्वचालित नम्बर प्लेट रेकर्ड गर्ने प्रणाली भएका क्यामेरा राखिएका छन्। जिल्ला प्रहरी र ट्राफिक प्रहरीले एकीकृत नियन्त्रण कक्षबाट यी क्यामेराको अनुगमन गर्ने थापाले बताए।
यसअघि क्यामेराको अभावमा विभिन्न दुर्घटनाको विवरण संकलन तथा घटनामा संलग्न सवारीसाधन पहिचान गर्न कठिनाइ हुने गरेको थियो। नयाँ प्रणाली सञ्चालनमा आएसँगै यस्ता समस्या न्यूनीकरण हुने प्रहरीको अपेक्षा छ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले समाजमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्न महानगरले सीसी क्यामेरा जडानमा लगानी गरेको बताए।
महानगरवासीलाई सुरक्षित वातावरणमा बसोबास गर्ने अवस्था सिर्जना गर्न ठूलो रकम खर्च गरेर क्यामेरा जडान गरिएको उल्लेख गर्दै उनले यसको प्रभावकारी उपयोगका लागि अनुगमनमा खटिने प्रहरीलाई आवश्यक तालिमसमेत प्रदान गरिएको जानकारी दिए।
भरतपुर महानगरपालिकाका २९ वटै वडामा आवश्यकताअनुसार प्रतिवडा आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ। महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित पाँच करोड ५८ लाख २० हजार ६५९ रुपैयाँ खर्च गरी नयाँ क्यामेरा जडान गरेको हो।
जडान गरिएका क्यामेरामध्ये आठवटाले सवारीसाधनको गति मापन गर्ने र चारवटाले स्वचालित रूपमा नम्बर प्लेट पहिचान गर्नेछन्। त्यस्तै, ३६० डिग्री घुमाउन र दृश्य जुम गर्न मिल्ने नौवटा क्यामेरा जडान गरिएका छन्।
गति मापन तथा नम्बर प्लेट पहिचान गर्ने क्यामेरा महानगर प्रवेश गर्ने प्रमुख नाकामा राखिएका छन्। मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा समेत क्यामेरा जडान गरिएको छ। प्रहरीको अध्ययनका आधारमा सुरक्षा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा राखिएको महानगरपालिकाले जनाएको छ।
क्यामेरा सञ्चालनका लागि आवश्यक नेटवर्क व्यवस्थापन गर्न नेपाल टेलिकमसँग पनि सम्झौता गरिएको छ। कार्यवाहक प्रमुख अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जीपीएन नेटवर्क प्रयोग गरेबापत महानगरपालिकाले वार्षिक ४७ लाख रुपैयाँ भुक्तानी गर्ने गरी सम्झौता गरेको छ।
सीसी क्यामेराको एकीकृत निगरानी प्रणालीले ट्राफिक व्यवस्थापन, दुर्घटनाको अनुसन्धान, अपराध नियन्त्रण तथा सहरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने महानगरपालिकाको विश्वास छ।





