रसुवा । बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माण भएसँगै रसुवाको पर्यटन क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको छ। बाढीले पुल बगाएपछि झन्डै डेढ महिनादेखि सुनसान बनेको रसुवाको पर्यटन व्यवसायले नयाँ गति लिन थालेको हो।
गत भदौ १० गते आएको विनाशकारी बाढीले फलाखु खोलाको पुल बगाएपछि रसुवाको सडक आवागमन प्रभावित बनेको थियो। नेपाली सेनाको प्रयासमा ४७ दिनपछि करिब ७४ मिटर लामो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएसँगै चीनसँगको व्यापारिक नाका र पर्यटकीय गन्तव्य रसुवा पुनः पुरानै लयमा फर्किन थालेको छ।
पुल सञ्चालनमा आएपछि सवारीसाधनको आवागमन बढेको छ भने विश्वप्रसिद्ध लाङटाङ क्षेत्र र पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने पर्यटकको चहलपहल पनि बढ्न थालेको छ। पर्यटकीय याममै सडक सम्पर्क अवरुद्ध हुँदा मारमा परेका होटल, रिसोर्ट तथा अन्य पर्यटन व्यवसायीलाई पुल सञ्चालनले राहत दिएको छ।
बुधबार बिहानै विदेशी पर्यटक बोकेका सवारीसाधन सदरमुकाम धुन्चे हुँदै लाङटाङ प्रवेशद्वारतर्फ लागेका छन्। लामो समयपछि पर्यटकको आगमन बढ्न थालेसँगै स्थानीय व्यवसायी र सर्वसाधारणमा उत्साह छाएको छ।
हिमालले घेरिएको रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको थियो। पर्यटनमा अर्बौं रुपैयाँ लगानी भएको यस क्षेत्रमा पर्यटकको आवागमन ठप्प हुँदा व्यवसाय धराशायी हुने चिन्ता बढेको थियो। बेलीब्रिज सञ्चालनमा आएसँगै पर्यटकको आगमन सहज बनेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ।
धुन्चेका होटल व्यवसायी निशान गजुरेलले पुल बगाएपछि होटलहरू पाहुनाविहीन बनेको र अग्रिम बुकिङसमेत रद्द हुन थालेको बताए। बेलीब्रिज सञ्चालनमा आएपछि बुधबारदेखि नै पर्यटकको चहलपहल सुरु भएको उल्लेख गर्दै उनले यसलाई पर्यटन व्यवसायका लागि ठूलो राहतका रूपमा लिएका छन्।
उनका अनुसार पर्यटकीय सिजनमा सडक अवरुद्ध हुँदा व्यवसाय नै प्रभावित हुने चिन्ता थियो। पुल बनेपछि पर्यटकको आगमन बढ्ने र लामो समयदेखि सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान हुने अपेक्षा गरिएको छ।
बेलीब्रिज सञ्चालनमा आएसँगै चाडपर्वका बेला घर फर्किने सर्वसाधारण, आन्तरिक पर्यटक तथा विदेशी पदयात्रीलाई पनि आवागमन सहज भएको छ। सडक सम्पर्क पुनःस्थापित भएपछि रसुवाका होटल, रिसोर्ट र पदमार्गमा पर्यटकको चहलपहल बढ्ने विश्वास स्थानीय व्यवसायीले गरेका छन्।
फलाखु खोलामा पुल निर्माण भएसँगै रसुवाको पर्यटन, स्थानीय व्यापार र जनजीवनलाई पुनः गति मिल्ने अपेक्षा गरिएको छ।






