काभ्रे । बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर १० दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले असोज ३१ गतेदेखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको हो।
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।
उनका अनुसार दशैंका बेला बिपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको हो।
दशैंमा यात्रुवाहक सवारीसाधनको आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले टिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनले तोकिएको अवधिभर निर्णयको पालना गर्दै टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ।






