सेयर बजार २१ अंकले बढ्यो, कारोबार सवा चार अर्ब नजिक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। यस दिन नेप्से २१.३२ अंकले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेर बन्द भएको हो।

बुधबार बजारमा कुल ४ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभर १ करोड १६ लाख कित्ता सेयर किनबेच भएका छन्।

यस दिन सेयर बजारमा खरिदकर्ताको दबदबा देखिएको छ। कारोबारमा सहभागी १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको मूल्य घटेको छ। त्यस्तै, नौ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

बुधबार कुल ३५४ वटा स्क्रिपको ३९ हजार १८३ पटकको कारोबार भएको छ।

सेयर मूल्यमा सर्वाधिक वृद्धि हुने कम्पनीको सूचीमा सिद्धार्थ बैंकको डिबेन्चर शीर्ष स्थानमा रहेको छ। उक्त डिबेन्चरको मूल्य १३.२१ प्रतिशतले बढेको छ। समग्रमा मूल्य बढ्ने सूचीमा डिबेन्चर तथा म्युचुअल फन्डको वर्चस्व देखिएको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो स्थानमा रहेको छ। बैंकको २६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोपावरको २१ करोड ६० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

समूहगत परिसूचकतर्फ बुधबार बैंकिङ, विकास बैंक र निर्जीवन बीमा समूहमा एक प्रतिशतभन्दा बढीको वृद्धि भएको छ। अन्य सबै समूहका परिसूचक पनि सकारात्मक रहे पनि तिनको वृद्धि एक प्रतिशतभन्दा कम रहेको छ।