ख्वप (भक्तपुर) – दसैँको रौनकसँगै भक्तपुरको महेश्वरीस्थानमा लाग्ने राँगाको बजार यस वर्ष पनि पहिलेको जस्तो चहलपहलपूर्ण छैन। पुस्तौँदेखि दसैँको परम्परासँग जोडिएको यो व्यापारमा निर्भर व्यापारीहरू ग्राहकको प्रतीक्षामा छन्। कुनै समय दसैँ आउनुभन्दा महिनौँअघिदेखि नै किनबेच हुने बजारमा अहिले राँगा बिक्री गर्नसमेत कठिन हुन थालेको छ।
दसैँमा मीठोमसिनो खाने, रमाइलो गर्ने र आफन्तसँग भेटघाट गर्ने चलन छ। तर अरूको चाडलाई स्वादिलो बनाउन राँगा बेच्ने व्यापारीका लागि भने दसैँ आम्दानी जुटाउने महत्वपूर्ण अवसर हो। भक्तपुरको मौलिक संस्कृति र सामूहिक भोजसँग जोडिएको राँगाको व्यापारले धेरै व्यापारीको जीविकोपार्जन धान्दै आएको छ।
गुणबहादुर बिसुरुवा पनि त्यस्तै व्यापारी हुन्। उनी यस वर्ष ३० वटा राँगा लिएर व्यापार गर्न भक्तपुर आएका छन्। उनका लागि राँगा बिक्री गर्नु दसैँको मौसमी व्यापार मात्र होइन, वर्षौँदेखि परिवारको खर्च जुटाउँदै आएको पेसा पनि हो। तर बजारमा ग्राहकको उपस्थिति न्यून हुँदा यसपालिको दसैँ उनको अपेक्षाअनुसार हुन सकेको छैन।
सडकछेउको पालमुनि व्यापारीको बास
भक्तपुरमा दसैँका लागि राँगा बिक्री गर्ने प्रमुख स्थान महेश्वरीस्थान हो। यहाँ घटस्थापनादेखि फूलपातीसम्म राँगाको किनबेच हुने गर्छ। विभिन्न जिल्लाबाट राँगा लिएर आउने व्यापारीले बिक्रीका लागि ल्याइएका पशु राखिएकै ठाउँमा सडकछेउ पाल टाँगेर बस्नुपर्ने अवस्था छ।
व्यापारको आशामा टाढाटाढाबाट आएका उनीहरूको दैनिकी राँगाको हेरचाह, दाना-पानीको व्यवस्था र ग्राहकको प्रतीक्षामै बित्छ। राँगा बिक्री नहुँदा उनीहरूको आम्दानी प्रभावित हुनुका साथै पशुलाई लामो समयसम्म पाल्नुपर्ने खर्च पनि बढ्छ।
कुनै समय दसैँ सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै ग्राहकको भीड लाग्ने महेश्वरीस्थानमा अहिले भने व्यापारको गति सुस्त छ। घटस्थापनाका दिनदेखि नै राँगा बिक्रीको आशामा बसेका व्यापारीहरू ग्राहक नआउँदा निराश छन्।
व्यापारी रामबहादुरका अनुसार पहिले दसैँ आउनुभन्दा महिनौँअघिदेखि राँगा किन्न ग्राहक आउने गर्थे। अहिले एक साताअघि मात्र राँगा ल्याउँदासमेत बिक्री गर्न मुस्किल हुने गरेको छ।
तीन हजारबाट घटेर पाँच सयमा सीमित राँगाको बिक्री
भक्तपुरको महेश्वरीस्थानमा कुनै समय दसैँका लागि तीन हजारभन्दा बढी राँगा बिक्री हुने गरेको स्थानीय कृष्णप्रसाद वासी सम्झन्छन्। अहिले त्यो सङ्ख्या घटेर करिब पाँच सयको हाराहारीमा सीमित भएको उनको भनाइ छ।
पहिले भक्तपुरका गुठीहरूले दसैँमा सामूहिक भोजका लागि कम्तीमा एउटा राँगो काट्ने चलन थियो। कतिपय गुठीले दुईदेखि तीन वटासम्म राँगा काट्ने गर्थे। अहिले केही गुठीले एउटा मात्रै राँगो काट्ने गरेका छन् भने कतिपयले त्यो चलन नै छाडेका छन्।
“पहिले गुठीहरूले धेरै राँगा काट्थे। अहिले कतिपयले एउटा मात्रै काट्छन्, कतिपयले काट्नै छाडेका छन्,” वासीले भने।
पहिले दसैँमा एकैपटक धेरै मासु किनेर विभिन्न परिकार बनाउने र बाँकी मासु सुकुटी बनाएर वर्षभरि खाने चलन थियो। अहिले बजारमा आवश्यकताअनुसार जुनसुकै बेला मासु किन्न पाइने भएपछि दसैँका लागि ठूलो परिमाणमा मासु किनेर राख्ने प्रचलन घटेको छ।
गुठीहरूको घट्दो सहभागिता, उपभोगको बदलिँदो शैली र बजार व्यवस्थापनका कठिनाइले राँगाको व्यापारमा प्रत्यक्ष असर पारेको व्यापारी तथा स्थानीयको भनाइ छ।
रामेछापका व्यापारी राजन तिमल्सिना पनि यस वर्ष २५ वटा राँगा लिएर भक्तपुर आएका छन्। उनले ल्याएका राँगाको मूल्य ६० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ। दसैँका बेला राँगा बिक्री गरेर परिवारको खर्च जुटाउने गरेका उनलाई यसपालि व्यापार नहुने हो कि भन्ने चिन्ता छ।
व्यापार घट्दा व्यापारीको आम्दानी मात्र प्रभावित भएको छैन, बिक्रीका लागि ल्याइएका राँगाको दाना, पानी र हेरचाहमा हुने खर्चसमेत बढेको छ। ग्राहक आउने आशामा बसेका व्यापारीका लागि प्रत्येक दिनको प्रतीक्षा थप खर्चिलो बन्दै गएको छ।
राँगाको मासु भक्तपुरको सांस्कृतिक पहिचान
भक्तपुरको दसैँ र सामूहिक भोजमा राँगाको मासुको विशेष महत्व छ। यहाँका विभिन्न गुठी तथा समुदायले सामूहिक रूपमा राँगो काट्ने, मासु भाग लगाउने र भोज आयोजना गर्ने परम्परा लामो समयदेखि चलाउँदै आएका छन्।
छोयला, दायकला, ख्वायला, सलाख्वा, भुटन र सेकुवाजस्ता परिकार भक्तपुरको परम्परागत भोजका विशेष आकर्षण हुन्। यी परिकारले स्थानीय खानपानको स्वाद मात्रै होइन, भक्तपुरको सांस्कृतिक पहिचानसमेत बोकेका छन्।
दसैँका अवसरमा राँगो काटेर मासु बाँड्ने र सामूहिक भोज गर्ने परम्पराले समुदायका सदस्यबीचको सम्बन्धलाई पनि बलियो बनाउँदै आएको छ। त्यसैले महेश्वरीस्थानको राँगाको बजारलाई मासुको किनबेच हुने स्थानका रूपमा मात्र हेर्न मिल्दैन। यो पुस्तौँदेखि चलिआएको संस्कृति, परम्परा र स्थानीय अर्थतन्त्रसँग जोडिएको बजार हो।
यद्यपि दसैँका अवसरमा भक्तपुरमा सबै समुदायको पशु काट्ने परम्परा एउटै छैन। महाअष्टमीका दिन सवारीसाधनको पूजा गर्दा खसी वा बोका बलि दिने चलन पनि यहाँ प्रचलित छ।
महेश्वरीस्थानमै किन लाग्छ राँगाको बजार ?
वीरगञ्ज महानगरपालिका क्षेत्रको जितपुरबाट राँगा बेच्न आएका व्यापारी हली महोमदमियाका अनुसार विगतमा महेश्वरीस्थानमा फराकिलो खुला ठाउँ र नजिकै खोला भएकाले यहाँ राँगा राख्न सहज थियो। विभिन्न स्थानबाट ल्याइएका राँगा यही ठाउँमा राखेर बिक्री गर्ने परम्परा त्यसैबाट सुरु भएको उनी बताउँछन्।
तर अहिले वरपर बस्ती विस्तार भएको छ। खेलमैदान, सडक तथा अन्य संरचना बनेका छन्। नगरपालिकाले विभिन्न क्षेत्रमा पर्खाल लगाएपछि राँगा राख्न पर्याप्त ठाउँ पाउन कठिन भएको व्यापारीहरूको गुनासो छ। खोलाको किनारमा पर्खाल बनेपछि राँगालाई पानी खुवाउनसमेत समस्या हुने गरेको उनीहरू बताउँछन्।
“पहिले झन्डै दुई सय राँगा ल्याएर बेच्थ्यौँ। अहिले ३० वटा राख्ने ठाउँ पाउन पनि गाह्रो छ,” महोमदमियाले भने।
उनका अनुसार पहिले महेश्वरीस्थानमा राँगा राखेबापत शुल्क तिर्नुपर्ने व्यवस्था थिएन। अहिले भने प्रतिराँगा ५० रुपैयाँ शुल्क तिर्नुपर्छ। शुल्क लिइएपछि व्यापारीलाई राँगा राख्ने पर्याप्त ठाउँ, पानी र अन्य आधारभूत सुविधा पनि उपलब्ध गराउनुपर्ने उनको माग छ।
भक्तपुर नगरपालिकाका कर अधिकृत प्रभासकुमार चालिसेका अनुसार महेश्वरीस्थानमा बिक्रीका लागि ल्याइएका प्रत्येक राँगाबापत दैनिक ५० रुपैयाँ शुल्क लिने गरिएको छ। दुई वर्षअघि राँगा बोकेर ल्याइएको गाडीका आधारमा प्रतिगाडी ५०० रुपैयाँ शुल्क लिने व्यवस्था रहेकामा अहिले प्रतिराँगाका आधारमा शुल्क लिइँदै आएको उनले बताए।
स्थानीय दसबहादुर मानन्धरका अनुसार महेश्वरीस्थानमा घटस्थापनादेखि फूलपातीसम्म राँगाको मुख्य बजार लाग्छ। पहिले भेलुखेलमा पनि राँगा राख्ने गरिए पनि ठाउँको अभावका कारण अहिले बजार महेश्वरीस्थानमा केन्द्रित भएको छ। फूलपातीको अघिल्लो दिनदेखि राँगा काट्ने क्रम सुरु हुने भएकाले यो बजार दसैँको तयारीसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
परम्परा बदलिँदा व्यापारीको भविष्यमा चिन्ता
भक्तपुरमा राँगाको व्यापार घट्दै जानु केवल बजारमा ग्राहक कम हुनुको विषय होइन। यसले स्थानीय संस्कृति र त्यसमा निर्भर व्यापारीको भविष्यबारे पनि प्रश्न उठाएको छ।
एकातिर गुठी तथा समुदायमा सामूहिक भोज गर्ने परम्परा कमजोर बन्दै गएको छ भने अर्कोतिर उपभोक्ताले आवश्यकताअनुसार मासु किन्ने चलन बढेको छ। त्यसमाथि बजारमा पर्याप्त ठाउँ र आधारभूत सुविधाको अभावले व्यापारीलाई थप समस्यामा पारेको छ।
परम्परागत बजारलाई व्यवस्थित बनाउन नसकिएमा पुस्तौँदेखि यही पेसामा निर्भर व्यापारीको जीविकोपार्जन थप कठिन हुन सक्ने देखिन्छ। त्यसैले बजार व्यवस्थापन, पशु राख्ने उचित स्थान, पानीको सुविधा र व्यापारीमैत्री व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ छ।
दसैँमा धेरैका घरमा मासु पाक्छ, भोज हुन्छ र चाडपर्वको खुसी छाउँछ। तर त्यही खुसीका लागि राँगा बिक्री गर्न आएका गुणबहादुर बिसुरुवाजस्ता व्यापारी भने सडकछेउको पालमुनि बसेर ग्राहकको प्रतीक्षा गरिरहेका छन्।
उनीहरूका लागि दसैँ कमाइको अवसर मात्रै होइन, परिवारको खर्च जुटाउने र वर्षौँदेखि अपनाउँदै आएको पेसालाई निरन्तरता दिने समय पनि हो।
भक्तपुरको महेश्वरीस्थानमा घट्दो राँगाको व्यापारले एउटा गम्भीर प्रश्न खडा गरेको छ— परम्परा बदलिँदै जाँदा त्यसैमा निर्भर व्यापारीको जीविकोपार्जन कसरी जोगाउने ?
दसैँको रौनकसँगै गुणबहादुरहरूको चुलो पनि बलोस्, उनीहरूले ल्याएका राँगा बिक्री होऊन् र पुस्तौँदेखि चल्दै आएको यो पेसा पनि जीवित रहोस् भन्ने उनीहरूको आशा छ।






