पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ ।

त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।

वर्षा तथा हिमपातको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले कृषि कार्यमा संलग्न किसान तथा सम्बन्धित सरोकारवाला निकायलाई मौसमसम्बन्धी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ । साथै, सम्भावित मौसमी जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।