काठमाडौं: सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को बैठकले गोरखा, धादिङ र बागलुङका प्रभावित क्षेत्रलाई तीन महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए।
सरकारले गोरखाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ र २ तथा बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई संकटग्रस्त क्षेत्र तोकेको छ। यी क्षेत्रहरूमा असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण बाढी र पहिरो गएको थियो।
बाढीका कारण निजी आवास गुमाएका र होल्डिङ सेन्टरमा बस्न नचाहने प्रभावित परिवारका लागि सरकारले नगद राहतको व्यवस्था गरेको छ। वैकल्पिक बसोबास नभएसम्म बढीमा ६ महिनाका लागि यो सुविधा उपलब्ध हुनेछ।
निर्णय अनुसार, ४ जनासम्म सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएका परिवारलाई थप प्रति सदस्य २ हजार रुपैयाँका दरले बसोबास र जीविकोपार्जनका लागि रकम प्रदान गरिनेछ।






