काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त आयोजनामा आईसीसी एसिया सम्मेलन सन् २०२६ नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आयोजना हुने भएको छ ।
सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउने तथा एसियाली क्रिकेटको प्रवर्द्धनका विषयमा छलफल हुने जनाइएको छ ।
नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा नेपालको उपस्थिति थप मजबुत बनाउनुका साथै नेपालको खेलकुद पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को तेस्रो संस्करणअन्तर्गत हुने एलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन् ।
नेपालमा अन्तर्राष्ट्रिय क्रिकेटका प्रतिनिधिहरूको जमघट र एनपीएलका निर्णायक खेलको अवलोकनले नेपाली क्रिकेटको प्रचारप्रसार तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।





