तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी सयपत्री फूलको खेती र स्याहारसुसारमा जुटेका छन्। चाडपर्वलाई लक्षित गरी सहकारीले एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेको हो।
एक हजार २०० सदस्य रहेको सहकारीले तुलसीपुरको बनकट्टामा पाँच वर्षका लागि जग्गा भाडामा लिएर ‘कर्म’ जातको सयपत्री खेती गरेको संस्थाकी अध्यक्ष चित्रा धितालले जानकारी दिइन्। उनका अनुसार खेती सुरु गर्दा बीउ, मल्चिङ, खेत जोताइलगायतका काममा तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।
तिहारलाई लक्षित गरी गत साउन २६ गते रोपिएको सयपत्री ४५ दिनमै फुलेपछि भने सहकारीलाई आम्दानीको लक्ष्य पूरा हुनेमा केही चिन्ता थपिएको छ। तिहारका लागि फूल तयार पार्ने योजना रहे पनि दसैँअघि नै फूल फुलेपछि अपेक्षाअनुसार आम्दानी नहुने हो कि भन्ने चिन्ता रहेको अध्यक्ष धितालले बताइन्।
“हामीले तिहारलाई लक्षित गरेर खेती गरेका थियौँ, तर दसैँअघि नै फूल फुल्यो। त्यसैले सोचेअनुसार आम्दानी हुन्छ कि हुँदैन भन्ने चिन्ता छ,” उनले भनिन्।
नियमित सिँचाइको व्यवस्था गर्न सके एउटै बोटबाट तीन पटकसम्म फूल लिन सकिने भएकाले सोहीअनुसार खेतीको व्यवस्थापन भइरहेको उनले बताइन्। सहकारीले यस वर्ष सयपत्री फूल बिक्रीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ।
फूल अपेक्षाभन्दा अगाडि फुले पनि सहकारीले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी बजार विस्तारको प्रयास गरेको छ। टिकटक र फेसबुकको प्रयोग गरेर असोज महिनामै करिब दुई क्विन्टल सयपत्री फूल काठमाडौँ पठाइसकिएको अध्यक्ष धितालले बताइन्। उनका अनुसार विदेशबाट समेत फूलको माग आएको छ।
कृषि सहकारीका रूपमा सदस्यको आयआर्जन बढाउने उद्देश्यले सयपत्री खेती सुरु गरिएको उनले बताइन्। प्रतिकठ्ठा वार्षिक दुई हजार रुपैयाँका दरले जग्गा भाडामा लिएर गरिएको खेतीबाट राम्रो आम्दानी हुने अपेक्षा सहकारीले गरेको छ।






