चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

कास्की । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँलगायतका चाडपर्वका समयमा चोरी, ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

‘सभ्य बनौँ, सुरक्षित रहौँ, हर्षोल्लासका साथ चाडपर्व मनाऔँ’ भन्ने सन्देशसहित प्रहरीले आपसी सद्भाव कायम राख्दै जिम्मेवार र सुरक्षित रूपमा चाडपर्व मनाउन सार्वजनिक अपिल जारी गरेको हो ।

चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले विशेष सुरक्षा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

घर छाडेर बाहिर जाँदा झ्यालढोका राम्रोसँग बन्द गर्न, छिमेकीलाई घरको निगरानी गरिदिन अनुरोध गर्न तथा घर र टोलको सुरक्षाका लागि सीसीटीभी र आपत्कालीन साइरनजस्ता उपकरण प्रयोग गर्न प्रहरीले सुझाव दिएको छ । रातको समयमा घरबाहिरको बत्ती बाल्ने र सुत्नुअघि झ्यालढोका सुरक्षित रूपमा बन्द गर्न पनि आग्रह गरिएको छ ।

मेलापर्व तथा भीडभाड हुने स्थानमा गरगहना, मोबाइल र नगद चोरी हुन सक्ने भएकाले आफ्ना सामानको विशेष ख्याल गर्न र पाकेटमारीबाट जोगिन प्रहरीले सचेत गराएको छ । त्यस्तै, दियो, मैनबत्ती तथा अन्य आगोका स्रोत बालेर नछाड्न र सम्भावित आगलागीबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रहरीले बैंकको चेक, एटीएम कार्ड तथा ओटीपी कोड अरूलाई प्रयोग गर्न नदिन र यात्राका क्रममा अपरिचित व्यक्तिसँग अनावश्यक घुलमिल नगर्न आग्रह गरेको छ । अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान तथा सुन र अमेरिकी डलर साट्ने नाममा हुन सक्ने ठगीबाट जोगिन पनि अपिलमा उल्लेख गरिएको छ । चाडपर्वका नाममा जुवा तथा तास खेल्ने र खेलाउने गतिविधिबाट टाढा रहनसमेत प्रहरीले अनुरोध गरेको छ ।

त्यसैगरी, पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगले मानवीय, भौतिक र वातावरणीय क्षति निम्त्याउन सक्ने भएकाले यस्ता गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ ।

ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा लाउडस्पिकर नबजाउन, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु र मालसामान नबोक्न पनि प्रहरीले सचेत गराएको छ ।

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न नहुन र चन्दा, भेटी वा अन्य सहयोगका नाममा कसैलाई अनिच्छित रूपमा रकम माग नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

कुनै समस्या परेमा वा आपत्कालीन अवस्था आएमा नेपाल प्रहरीको सम्पर्क नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न सकिने गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।