दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ । कुनै समय दसैँ नजिकिएसँगै गाउँघरका भित्ता रातो माटो र कमेरोले रङ्गिन्थे। घर पोत्ने, ढोका–झ्याल रङ्गाउने तथा बाटोघाटो सफा गर्ने चटारोले गाउँबस्तीमा छुट्टै रौनक छाउँथ्यो। तर, आधुनिक घर निर्माण र बदलिँदो जीवनशैलीसँगै दसैँको आगमनसँग जोडिएको यो परम्परा लमजुङका गाउँबस्तीमा क्रमशः हराउँदै गएको छ।

विगतमा दसैँ आउनुअघि गाउँलेहरू मिलेर रातो माटो र कमेरो खोज्न जाने, घरका भित्ता पोत्ने र एकअर्काको काममा सघाउने गर्थे। परम्परागत शैलीमा घर सजाउने यो चलनले गाउँबस्तीलाई आकर्षक बनाउनुका साथै छिमेकीबीच आपसी सहयोग र सद्भाव पनि बढाउँथ्यो। अहिले भने कताकति पुराना घरमा मात्र यस्तो दृश्य देख्न पाइन्छ।

आधुनिक घर निर्माण, सिमेन्टको प्रयोग, बजारमा पाइने विभिन्न रङको बढ्दो प्रचलन र बसाइँसराइका कारण परम्परागत रूपमा घर पोत्ने चलन कमजोर बन्दै गएको स्थानीय बताउँछन्। नयाँ घरमा सिमेन्टको प्लास्टर र आधुनिक रङ प्रयोग गर्ने क्रम बढेसँगै गाउँका भित्तामा देखिने रातो माटो र कमेरोको रङ पनि हराउँदै गएको छ।

बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीलाई दसैँअघि गाउँमा हुने पुरानो चहलपहल अझै सम्झनामा ताजै छ। उनका अनुसार पहिले गाउँलेहरू आधा घण्टादेखि एक घण्टासम्म पैदल हिँडेर जङ्गलनजिकका ठाउँमा पुग्थे र घर पोत्न आवश्यक रातो माटो खनेर ल्याउँथे। त्यसपछि भित्तामा रातो माटो र कमेरो लगाउने, ढोका–झ्यालमा कालो रङ लगाउने तथा घरवरपरका बाटोघाटो सफा गर्ने गरिन्थ्यो।

घर पोत्ने काम घरधनीको मात्र जिम्मेवारी हुँदैनथ्यो। गाउँलेहरू मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने गर्थे। घरमा वृद्धवृद्धा मात्रै भएका वा आफैँले घर पोत्न नसक्ने परिवारलाई छिमेकीले माटो ल्याइदिने र आवश्यक सामग्री जुटाउन सहयोग गर्ने चलन थियो। तर, अहिले पहिलेको जस्तो आपसी सहयोग र सामूहिक काम गर्ने परम्परा कमजोर हुँदै गएको तिवारीको अनुभव छ।

रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारका सदस्य गाउँबाहिर जाने क्रम बढ्नु, कतिपय घर खाली रहनु र केही घरमा वृद्धवृद्धा मात्रै बस्नुपर्ने अवस्थाले पनि गाउँको पुरानो चहलपहल घटाएको उनले बताए।

तिवारीको आफ्नै घरमा समेत यो परिवर्तन देखिएको छ। उनका अनुसार २०७२ सालको भूकम्पअघि उनको घर परम्परागत शैलीको थियो र त्यसमा रातो माटो तथा कमेरो पोत्ने गरिन्थ्यो। भूकम्पपछि नयाँ घर निर्माण गर्दा पुरानो बनावट कायम नरहेकाले अहिले पहिलेझैँ घर पोत्ने अवस्था नरहेको उनले बताए।

दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङ पनि पुराना घरको सङ्ख्या घट्दै जानु र नयाँ घरमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्नुले यो परम्परा हराउँदै गएको बताउँछन्। पहिले गाउँका अधिकांश घर रातो माटो र कमेरोले पोतिने गरे पनि अहिले पुराना घरमा समेत सिमेन्टको प्लास्टर गर्ने चलन बढेको उनको भनाइ छ।

यद्यपि, बेँसीसहर नगरपालिका–३, गाउँसहरका केही घरमा भने यो परम्परा अझै कायम छ। लमजुङ दरबारनजिकै रहेको गाउँसहरका केही स्थानीयले परम्परागत शैलीमा घर पोतेर गाउँबस्तीलाई सफा र आकर्षक राख्ने अभ्यासलाई निरन्तरता दिँदै आएका छन्।

स्थानीय सुरेश श्रेष्ठका अनुसार गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरो प्रयोग गरिन्छ। तर, आधुनिक घर निर्माण बढ्दै जानु र पुराना घर भत्काएर नयाँ संरचना बनाउने क्रमले यो परम्परा पनि क्रमशः लोप हुने जोखिम बढेको उनले बताए।

रातो माटो र कमेरोले घर पोत्ने चलन घर सजाउने माध्यम मात्रै थिएन। यो स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र सामुदायिक सहकार्यको प्रतीकसमेत थियो। दसैँअघि गाउँलेहरू मिलेर गर्ने यस्ता कामले आपसी सद्भाव र सहयोगको भावना बलियो बनाउँथ्यो।

बदलिँदो ग्रामीण जीवनशैलीसँगै यो अभ्यास कमजोर बन्दै जाँदा गाउँका भित्ताबाट रातो माटो र कमेरोको रङ मात्र हराएको छैन, चाडपर्वको तयारीमा एकजुट भएर काम गर्ने पुरानो सामूहिक परम्परा पनि ओझेलमा पर्दै गएको छ।