कांग्रेसले भन्यो– विदेशबाट घर आउन चाहने सबैलाई ल्याउनुपर्छ

२४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) का कारण घर र्फकन चाहने सबैलाई ल्याउनुपर्ने बताएको छ । सोही अनुसार अगाडि बढ्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, विदेशका जुकसुकै कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार छ । तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।’

विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले बताएका छन् ।

उनले विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न समेत माग गरेका छन् ।