सिन्धुपाल्चोक । दसैँका सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनको स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल भित्रिन थालेका छन्।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामग्री तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खुला गरेको हो।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले नाका सञ्चालनमा आएसँगै लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको चाप बढेको जानकारी दिए। उनका अनुसार चीनको न्यालम क्षेत्रमा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेशको प्रतीक्षामा रहेका छन्।
चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। चाडपर्व नजिकिँदै गर्दा नाका अस्थायी रूपमा खुल्दा बजारमा आवश्यक सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।






