एनपीएलमा थपियाे राेमाञ्च : खतरनाक ब्याट्सम्यान आन्द्रे रसेलले बिराटनगर किङ्सबाट खेल्ने

काठमाडौं । छक्का र चौकाको वर्षा, तीव्र गतिका बलरमाथि आक्रामक प्रहार र एक्लै खेलको नतिजा बदल्न सक्ने क्षमता । विश्व क्रिकेटमा आन्द्रे रसेलको परिचय यही हो । यी विस्फोटक अलराउन्डरलाई विराटनगर किङ्सले अनुबन्ध गरेर अन्य टीमलाई ठूलै झट्का दिएकाे छ ।

वेस्ट इन्डिजका रसेल टी-२० क्रिकेटका चर्चित अनुहार हुन् । ब्याटिङमा उनको आक्रामकता र बलिङमा गति तथा विविधताले उनलाई फ्रेन्चाइज क्रिकेटमा विशेष खेलाडी बनाएको छ । उनी क्रिजमा उत्रिएपछि केही ओभरमै खेलको दिशा बदलिन सक्ने अपेक्षा गरिन्छ ।

रसेलको सबैभन्दा ठूलो शक्ति उनको पावर हिटिङ हो । बललाई मैदानका जुनसुकै क्षेत्रमा पुर्‍याउन सक्ने क्षमताका कारण उनी टी-२० क्रिकेटका खतरनाक ब्याटरमध्ये गनिन्छन् । विशेषगरी इनिङ्सको अन्तिम ओभरमा उनको ब्याटिङ विपक्षी बलरका लागि चुनौती बन्न सक्छ । सामान्य अवस्थामा जित्न कठिन देखिएको खेललाई पनि केही ठूला प्रहारबाट आफ्नो पक्षमा पार्न सक्ने खेलाडी हुन् उनी ।

उनको ब्याटिङ मात्र होइन, मध्यम तथा अन्तिम ओभरमा बलिङ गर्न सक्ने क्षमताले पनि टोलीलाई थप विकल्प दिन्छ । त्यसैले रसेललाई केवल ब्याटरका रूपमा होइन, खेलका विभिन्न परिस्थितिमा उपयोग गर्न सकिने अलराउन्डरका रूपमा हेरिन्छ ।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने हुन् । रसेलजस्ता अनुभवी विदेशी खेलाडीको उपस्थितिले टोलीको सन्तुलन, रणनीति र प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्न सक्छ ।

रसेलले ५९४ टी-२० खेलमा ९ हजार ६ सय ६२ रन बनाएका छन् । उनको ब्याटिङ स्ट्राइक रेट १६७.४५ छ भने सर्वाधिक स्कोर १२१ रन होल। उनले ७८५ छक्का प्रहार गरेका छन् ।

बलिङमा पनि रसेल उत्तिकै प्रभावशाली छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मात्रै १४० खेलमा २ हजार ६ सय ५१ रन बनाउनुका साथै १२३ विकेट लिएका छन् । आईपीएलमा उनको ब्याटिङ स्ट्राइक रेट १७४.१८ छ ।

आन्द्रे रसेलले १६ जुलाई २०२५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए । उनले वेस्ट इन्डिजका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल २२ जुलाई २०२५ मा अस्ट्रेलियाविरुद्ध खेले । त्यो खेल जमैकाको सबिना पार्कमा भएको थियो । अन्तिम खेलमा उनले १५ बलमा ३६ रन बनाएका थिए, जसमा ४ छक्का र २ चौका थिए ।