मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले चिकित्सकले खानपानमा सावधानी अपनाउन सुझाव दिएका छन् ।

विशेषगरी चिल्लो तथा बोसोयुक्त मासुले केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढाउन सक्ने भएकाले घाँटीमा जलन हुने वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले यस्ता खानेकुरा कम खानु उपयुक्त हुने चिकित्सकको भनाइ छ ।

वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताका अनुसार पेटको अम्ल घाँटीसम्म फर्किँदा घाँटी र छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने तथा खसखस महसुस हुन सक्छ । त्यसैले दसैँमा खानाको मात्रा र प्रकृतिमा ध्यान दिन आवश्यक छ ।

घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले आफूलाई सहज हुने र पचाउन सजिलो खानेकुरा खानुका साथै पर्याप्त पानी पिउनुपर्ने डा. गुप्ताले बताए ।

दसैँमा मासु खाँदा मासुको टुक्रा वा हड्डी घाँटीमा अड्किने जोखिमप्रति पनि सचेत रहनुपर्ने उनले उल्लेख गरे । मासु वा हड्डी अड्किँदा निल्न गाह्रो हुने, घाँटी दुख्ने तथा थुक निल्नसमेत समस्या हुन सक्छ । अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न कठिन हुने र ज्यानसमेत जोखिममा पर्न सक्ने उनको भनाइ छ ।

घाँटीमा मासु वा हड्डी अड्किएको शङ्का लागेमा औँला घाँटीभित्र हालेर निकाल्ने प्रयास गर्नु हुँदैन । त्यस्तै, भात, रोटी वा अन्य खानेकुरा निलेर अड्किएको वस्तुलाई तल धकेल्न खोज्दा घाँटीमा थप चोट लाग्न सक्ने भएकाले त्यस्तो प्रयास नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

निल्न नसक्ने वा थुकसमेत निल्न कठिन हुने अवस्था आएमा तत्काल अस्पताल जानुपर्छ । सास फेर्न, बोल्न वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था देखिएमा श्वासनलीमा अवरोध भएको हुन सक्ने भएकाले तुरुन्त आपत्कालीन सहायता लिन आवश्यक छ ।

दसैँमा खानपान गर्दा स्वादसँगै स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने र घाँटीमा कुनै समस्या देखिएमा बेवास्ता नगरी समयमै उपचार गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

(रासस)