काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी (करिब १८ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। कम्पनीले डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड कम्प्युटिङ तथा अन्य प्रविधिको पूर्वाधार विस्तारमा उक्त रकम खर्च गर्ने जनाएको छ।
बर्लिनमा मङ्गलबार आयोजित सरकारी व्यावसायिक शिखर सम्मेलनका क्रममा अमेजनले लगानी योजना सार्वजनिक गरेको हो। सुस्त अर्थतन्त्रलाई गति दिने र उच्च प्रविधिका क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने प्रयासमा रहेको जर्मनीका लागि यो घोषणा महत्त्वपूर्ण मानिएको छ।
अमेजनका प्रमुख विश्वव्यापी मामिला तथा कानुनी अधिकारी डेभिड जापोल्स्कीले जर्मनीलाई नवप्रवर्तनको केन्द्र तथा युरोपमा लगानीका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गरे। उनका अनुसार कम्पनीले सन् २०१० यता जर्मनीमा १०० अर्ब युरोभन्दा बढी लगानी गरिसकेको छ।
जर्मनीकी अर्थमन्त्री क्याथरिन राइचेले अमेजनको नयाँ लगानीले अन्तर्राष्ट्रिय प्रविधि प्रतिस्पर्धामा देशको स्थिति बलियो बनाउने बताइन्। यसबाट आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उनको भनाइ छ।
एआई र क्लाउड कम्प्युटिङमा प्राथमिकता
अमेजनले घोषणा गरेको कुल लगानीमध्ये करिब पाँच अर्ब युरो फ्रान्कफर्ट क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ। उक्त रकम कम्पनीको क्लाउड कम्प्युटिङ सेवा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को पूर्वाधार विस्तारमा उपयोग गरिनेछ। एआई सेवाको माग बढ्दै गएपछि कम्पनीले क्लाउड पूर्वाधारको क्षमता विस्तार गर्न लागेको हो।
यसका अतिरिक्त कम्पनीले आफ्नो स्याटेलाइट सञ्जालमा आधारित उच्च गतिको इन्टरनेट सेवा ‘अमेजन लियो’ मा पनि लगानी गर्ने जनाएको छ।
गोदामहरूको सञ्चालनलाई थप प्रभावकारी बनाउन रोबोटिक्स प्रविधिको प्रयोग बढाउने योजना पनि कम्पनीले अघि सारेको छ। त्यस्तै, अमेजनको भिडियो स्ट्रिमिङ सेवा प्राइम भिडियोले जर्मनीमा थप सामग्री निर्माण तथा छायाङ्कन गर्ने तयारी गरेको छ।
मङ्गलबार सम्पन्न लगानी सम्मेलनमा जर्मनीसहित विभिन्न देशका २०० भन्दा बढी व्यावसायिक क्षेत्रका नेतृत्वकर्ताको सहभागिता थियो।
अर्थतन्त्र सुधार्ने जर्मनीको प्रयास
सुस्त अर्थतन्त्रलाई पुनः गतिशील बनाउने उद्देश्यले जर्मन सरकारले स्वदेशी तथा विदेशी कम्पनीलाई लगानी बढाउन र व्यावसायिक गतिविधि विस्तार गर्न प्रोत्साहित गर्दै आएको छ। तर जटिल प्रशासनिक प्रक्रिया, उच्च ऊर्जा लागत र दक्ष जनशक्तिको अभावले लगानीको वातावरणमा चुनौती सिर्जना गरिरहेका छन्।
सम्मेलनमा बोल्दै जर्मन चान्सलर फ्रेडरिक मर्जले आफ्नो गठबन्धन सरकारले दशकौँयताकै महत्त्वाकांक्षी सुधार तथा आधुनिकीकरण अभियान सुरु गरेको बताए। उनले सुधारका कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सरकारले कर कटौती, प्रशासनिक झन्झट न्यूनीकरण र वित्तीय बजार सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ।
अर्थमन्त्री राइचेले यसअघि एक रेडियो अन्तर्वार्तामा सम्मेलनमा सहभागी विभिन्न कम्पनीले हालसम्म २२० अर्ब युरोभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएकी थिइन्।
यसैबीच, चान्सलर मर्जले सोमबार एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग छलफल गर्दै सम्मेलनको उद्घाटन गरेका थिए। त्यस अवसरमा जर्मनीले औद्योगिक क्षेत्रमा एआईको प्रयोग विस्तार गर्ने उद्देश्यले एनभिडियासँग साझेदारी घोषणा गरेको थियो।
बलियो उत्पादन क्षेत्र भएको जर्मनीले उद्योगमा एआई प्रविधिको प्रयोग बढाएर उत्पादकत्व र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सुदृढ गर्ने लक्ष्य राखेको छ।





