ललितपुर । ललितपुरको पाटनमा महानवमीको अवसरमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोल्लासका साथ मनाइएको छ। आसुरी शक्तिमाथि सत्यको विजय भएको स्मरणमा प्रत्येक वर्ष महानवमीका दिन यो जात्रा मनाउने परम्परा छ।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार महानवमीको दिन बिहान ५ बजे पाटन मङ्गलबजारस्थित मूलचोकबाट प्राचीन खड्ग लिएर महालक्ष्मी मन्दिरमा पुगेसँगै पूजाआजा सुरु गरिएको थियो। पाटन दरबार क्षेत्रस्थित लिच्छविकालीन मनमानेश्वरी देवीको सञ्चालन गुठी ‘मू छेँ आँगन घर’ बाट धार्मिक विधिअनुसार पूजापाठ गरिएको उनले बताए।
त्यसपछि झाँकी र बाजागाजासहित देवगणहरू महालक्ष्मी मन्दिर पुगेका थिए। त्यहाँ तान्त्रिक विधिबाट देवीको शक्ति आह्वान गरी पूजा सम्पन्न गरिएपछि देवगण तथा गुठियारहरूले हातहातमा प्राचीन खड्ग बोकेर नगर परिक्रमा गरेका थिए। नगर परिक्रमा पूरा गरी उनीहरू पुनः पाटनको मूलचोकमा फर्किएका थिए।
जात्रा घटस्थापनादेखि नै विधिपूर्वक सुरु हुने भए पनि यसको विशेष रौनक महाअष्टमी र महानवमीका दिन देखिने समितिका सचिव बुद्धिराज शाहीले जानकारी दिए। उनका अनुसार पाटन दरबार स्क्वायरस्थित तलेजु भवानीको शक्तिको प्रतीकका रूपमा लिइने प्राचीन खड्गसहित राँगो, बोका र हाँसलाई अष्टमीको मध्यरातमा पाटनको मूलचोकमा दर्शन गराउने परम्परा छ।
त्यसपछि खड्गलाई महालक्ष्मी मन्दिरमा लगेर महानवमीको बिहान तान्त्रिक साधना तथा बलिपूजा गरिन्छ। धार्मिक विधि सम्पन्न भएपछि उक्त खड्गलाई पुनः पाटन दरबार क्षेत्रको मूलचोकमा ल्याउने चलन रहेको शाहीले बताए।
विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै टीकापछिको त्रयोदशीका दिन जात्रा औपचारिक रूपमा सम्पन्न गरिन्छ। लिच्छविकालीन राजा मानदेवका नाति वसन्तदेवको पालादेखि सुरु भएको मानिने पाटनको यो ऐतिहासिक जात्रा नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र परम्पराको महत्त्वपूर्ण हिस्सा हो।
जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न मनमानेश्वरी देवी सञ्चालन गुठी (मू छेँ आँगन घर) लगायत ३२ खलकको सामूहिक सहभागिता रहने गरेको छ।






