बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया । बडादसैँमा अभिभावकको हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैँमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाका केही परिवारका लागि यस वर्षको दसैँ भने पीडादायी बनेको छ ।

भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा आफन्त बेपत्ता भएपछि बर्दियाको गेरुवा र राजापुरका केही परिवारमा दसैँको उल्लास छाउन सकेन । मान्यजनको हातबाट टीका लगाउने र परिवारसँगै चाडपर्व मनाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीले खुसी खोसेको छ ।

गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस वर्षको दसैँ विगतका वर्षजस्तो रहेन । बाढीमा छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ । दसैँमा छोरासँगै बसेर टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो ।

“दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गथ्र्यौं । यस वर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो । तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो खुसी नै खोसियो,” उनले भनिन् ।

डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दसैँ आए पनि मनमा खुसी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पर्खाइ मात्रै छ । छोरा फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैँ भने उनीसँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ ।

राजापुर नगरपालिका–९ तिनघरवाकी सिर्जना थारुको पीडा पनि उस्तै छ । भोटेकोशी बाढीमा श्रीमान् प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैँको रौनक हराएको छ । हरेक वर्ष श्रीमान्सँग टीका लगाएर आशीर्वाद साट्ने गरेकी सिर्जनाका लागि यस वर्षको दसैँ निराशाबीच बितिरहेको छ ।

“दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो । बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन । श्रीमान् कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु ?” उनले भनिन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर नगरपालिका–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए ।

बेपत्ता आफन्त फर्किने आशामा रहेका परिवारले डेढ महिनादेखि उनीहरूको अवस्था पत्ता लगाउन सकेका छैनन् । आफन्तको अवस्था अज्ञात रहेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्नसमेत सकेका छैनन् ।

गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस वर्ष दसैँको खुसी छाउन सकेन ।

“बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन् । दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन् । यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भने ।

भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैँको टीका केवल परम्परा र उत्सवमा सीमित रहेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग पनि जोडिएको छ ।

अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन् । परिवारसँगै बसेर टीका लगाउने, आशीर्वाद लिने र खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनाएको छ ।

उनीहरूका घरमा पनि दसैँ आएको छ, तर मनमा खुसी फर्किन सकेको छैन । यस वर्षको दसैँ उनीहरूका लागि टीका र जमराको उत्सवभन्दा पनि बेपत्ता आफन्तको सम्झना, पुनर्मिलनको आशा र विछोडको पीडाबीच बितिरहेको छ ।