तनहुँ। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ।
पुल पुनर्निर्माणका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भएको छ। आयोजनाका कारण प्रभावित हुने पुलको पुनःस्थापना तथा पुनर्निर्माणका लागि करबाहेक १६ करोड ९७ हजार ३८ रुपैयाँमा सम्झौता गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
उनका अनुसार स्थानीयवासीसँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चारवटा पुल निर्माण गर्न लागिएको हो। आयोजनाअन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ। पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उनले बताए।
जलाशय निर्माणका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन नयाँ स्थानमा पुल पुनर्निर्माण गर्न लागिएको हो। पुल निर्माणले स्थानीय बासिन्दाको दैनिक आवागमन सहज बनाउनुका साथै विभिन्न सेवा तथा सुविधामा पहुँच कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजना प्रमुख भण्डारीका अनुसार स्थानीयवासीसँगको परामर्शमा पुल रहने स्थान निर्धारण गरिएको हो। यसले जलाशय निर्माणबाट प्रभावित क्षेत्रका बासिन्दालाई आवतजावतमा हुन सक्ने असुविधा कम गर्ने विश्वास गरिएको छ।
सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।






