एनपीएलको उद्घाटन दिनको टिकट ३० मिनेटमै ‘सोल्ड आउट’

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन दिनका लागि बिक्री खुला गरिएको सम्पूर्ण टिकट आधा घण्टामै ‘सोल्ड आउट’ भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले गएराति ८ बजेदेखि अनलाइनमार्फत टिकट बिक्री खुला गरेको थियो। बिक्री खुला भएको ३० मिनेटभित्रै पहिलो दिनको सबै टिकट बिक्री भइसकेको क्यानले जनाएको छ।

कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले विभिन्न चरणका खेलअनुसार टिकटको दर तोकेको छ।

क्यानका अनुसार लिग चरणका खेलका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट मूल्य १,००० रुपैयाँ तोकिएको छ। यस्तै, नकआउट चरणअन्तर्गतका एलिमिनेटर, क्वालिफायर तथा फाइनल खेलका लागि साधारणतर्फ १,००० रुपैयाँ र प्रिमियमतर्फ २,००० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।