यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

​काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ।

प्रतियोगिताको तयारीस्वरूप छनोट भएका खेलाडीले आगामी अक्टोबर २६ देखि पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा सहभागिता जनाउनेछन्। प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन, फिटनेस र खेलकौशलको मूल्याङ्कन गरी अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।

क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, विपिन शर्मा, जोय थापा, सोहिल कुँवर, सौजन घिमिरे, भुपाल दंगाल र दीपक सेमेला रहेका छन्।

त्यसैगरी शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यान्शु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बजगाईं, सुगम बुढाथोकी, आशिक बैठा, रौनक श्रीवास्तव, रोहित चन्द, कृतिक कामत, राहुल हक र रोशन शाही पनि प्रारम्भिक टोलीमा समेटिएका छन्।

पोखरामा हुने बन्द प्रशिक्षणले खेलाडीको व्यक्तिगत क्षमता अभिवृद्धि गर्नुका साथै टोलीबीचको समन्वय, रणनीति र प्रतिस्पर्धात्मक तयारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुँदैछ। उक्त प्रतियोगिताका लागि नेपाली टोलीले बन्द प्रशिक्षणमार्फत आफ्नो तयारीलाई तीव्रता दिनेछ।

856978002_1102205539342650_6825222186855481315_n-1229x1536-1792832192.jpg​

​