रुकुम पश्चिममा ६ वर्षीय बालकको हत्या आरोपमा ३३ वर्षीय पुरुष पक्राउ

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा ६ वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथ रहेका छन्। उनीमाथि बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको हत्या गरेको आरोप लागेको छ। प्रहरीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ भक्तबहादुरले ढुङ्गा प्रहार गर्दा रमेश गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको थियो।

गम्भीर घाइते रमेशको जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिममा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।