काठमाडौँ । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड छोटो प्रारूपको क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन् । मध्यक्रममा ब्याटिङ गर्ने उनी तीव्र गतिमा रन बनाउन र ठूला सट प्रहार गर्न माहिर छन् । उनी मध्यम गतिका बलरसमेत हुन् ।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय क्रिकेटमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा एक हजार १२३ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च व्यक्तिगत स्कोर ८४ रन हो ।
सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेल खेल्दै पाँच हजार ९० रन बनाएका छन् । यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन् । उनको टी–२० क्रिकेटमा ब्याटिङ स्ट्राइक रेट १४२.०५ रहेको छ ।
फ्रेन्चाइज क्रिकेटमा समेत राम्रो अनुभव बटुलेका रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप बलियो हुने सुदूरपश्चिम रोयल्सले विश्वास लिएको छ ।
टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डलाई अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए । उनले रदरफोर्डको आक्रामक ब्याटिङ र फ्रेन्चाइज क्रिकेटको अनुभवले टोलीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
‘शेरफन रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीलाई सुदूरपश्चिम रोयल्समा आबद्ध गर्न पाउँदा हामी उत्साहित छौँ । उहाँको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवले टोलीलाई बलियो बनाउने विश्वास छ,’ खड्काले भने, ‘एनपीएलमा उहाँको उपस्थितिले समर्थकलाई पनि उत्साहित बनाउनेछ । यस सिजन टोलीको लक्ष्य प्राप्तिमा उहाँको योगदान महत्त्वपूर्ण हुने अपेक्षा गरेका छौँ ।’
रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले नेपालमा क्रिकेट खेल्न र टोलीको सफलताका लागि योगदान दिन आफू उत्साहित रहेको बताएका छन् ।






