म्याग्दी– गत महिना आएको बाढीपहिरोका कारण प्रभावित बनेको म्याग्दी जिल्लाका सबै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ। नेपाल विद्युत् प्राधिकरणका बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोबाट क्षति पुगेका प्रसारण तथा वितरण लाइनलगायतका संरचना मर्मत गरी विद्युत् सेवा नियमित गरेका हुन्।
प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा शनिबारदेखि विद्युत् सेवा सञ्चालनमा आएको छ।
उनले धेरैजसो स्थानमा दुई–तीन दिनभित्रै विद्युत् आपूर्ति पुनःसञ्चालन गरिएको जानकारी दिए। पाउद्धार, गिवाङ र किन्दु क्षेत्रमा दसैँको समयमा समेत कर्मचारी तथा मजदुरलाई रातिसम्म परिचालन गरेर विद्युत् सेवा सञ्चालनमा ल्याइएको उनले बताए।
“कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौँ। दोस्रो चरणमा थप मर्मत गरेर विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ,” गामीले भने।
बेनी वितरण केन्द्रअन्तर्गत मिलनचोक सबस्टेसनमार्फत पर्वतको जलजला गाउँपालिकाका मल्लाज र वारीबेनीलगायत क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ। यस केन्द्रअन्तर्गत कुल २४ हजार ४९० ग्राहक रहेका छन्। त्यस्तै, तातोपानी वितरण केन्द्रले अन्नपूर्ण गाउँपालिकाका वडा नं. १, २, ३ र ४ सहित मुस्ताङ जिल्लामा विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ।
बाढीपहिरोका कारण प्राधिकरणका ३३/११ केभी प्रसारण तथा वितरण लाइनका २५० वटा पोल र तिनमा जडान गरिएका तारमा क्षति पुगेको थियो। उक्त क्षतिबाट करिब एक करोड ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए।
अन्नपूर्ण गाउँपालिकाका राम्चे र हिस्तान क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत् आपूर्ति हुँदै आएकोमा अहिले पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटतर्फबाट वैकल्पिक व्यवस्था गरी विद्युत् सेवा सञ्चालन गरिएको छ।
त्यस्तै, पाउद्धारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गरिएको गामीले बताए।
लामो समयदेखि विद्युत् सेवाबाट प्रभावित बनेका ग्रामीण क्षेत्रका बासिन्दाले पुनः विद्युत् सेवा पाउन थालेपछि दैनिक जनजीवन सहज बन्दै गएको छ।





