बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसानलाई सतर्क रहन आग्रह

काठमाडौं- देशका विभिन्न भागमा बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना देखिएको छ। भारत मौसम विज्ञान विभागको विश्लेषणअनुसार लुम्बिनीदेखि पूर्वका क्षेत्रमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। बङ्गालको खाडीमा विकसित हुँदै गरेको मौसमी प्रणाली सक्रिय भई भारतको ओडिसा र बिहार हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। यस प्रणालीका कारण पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्नेछ।

सम्भावित वर्षाले धान काट्ने तयारीमा रहेका किसानको काम प्रभावित हुन सक्ने देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा मौसमविद् डा. धर्मराज उप्रेतीले बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना बनाएका किसानलाई मौसमको अवस्थालाई ध्यानमा राख्न सुझाव दिएका छन्।

त्यसैगरी, दसैँपछि आफ्नो कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबारको यात्रा सुरु गर्नुअघि मौसमको अवस्था बुझ्न उनले आग्रह गरेका छन्। साथै, सम्भावित वर्षा र हिमपातलाई मध्यनजर गर्दै उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ।