काठमाडौँ– नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे गत संस्करणका विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यस खेललाई अघिल्लो संस्करणको फाइनलको पुनरावृत्तिका रूपमा हेरिएको छ।
हेड टु हेडमा सुदूरपश्चिम अगाडि
एनपीएलमा हालसम्म लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच तीन खेल भएका छन्। तीमध्ये सुदूरपश्चिमले दुई खेल जितेको छ भने लुम्बिनीले एक खेलमा जित निकालेको छ।
अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। तर, त्यसअघि भएको लिग चरणको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो। त्यसैगरी, पहिलो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो।
यस तथ्याङ्कले सुदूरपश्चिमको समग्र हेड टु हेड रेकर्ड बलियो देखिए पनि उपाधि भिडन्तमा लुम्बिनीले आफूलाई उत्कृष्ट साबित गरेको थियो।
लुम्बिनी पाँच खेलदेखि अपराजित
लुम्बिनी लायन्स पछिल्ला पाँच खेलमा अपराजित रहँदै प्रतियोगितामा बलियो टोलीका रूपमा देखिएको छ।
फाइनलअघि भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो। त्यसअघि इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको थियो।
लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको लुम्बिनीले त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले हराएको थियो। लगातारको जितले लुम्बिनीको मनोबल उच्च बनाएको छ।
सुदूरपश्चिमका पछिल्ला पाँच खेलमध्ये तीनमा जित
सुदूरपश्चिम रोयल्सले भने पछिल्ला पाँच खेलमध्ये तीनमा जित र दुईमा हार बेहोरेको छ।
फाइनलअघि भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। तर, लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भने सुदूरपश्चिम ६ विकेटले पराजित भएको थियो।
त्यसअघि सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले तथा जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको थियो। पछिल्ला खेलको प्रदर्शन र अघिल्लो फाइनलको हारको बदला लिने लक्ष्यसहित सुदूरपश्चिम मैदानमा उत्रनेछ।
यस्तो छ सुदूरपश्चिमको टोली
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा डा. इशान पाण्डे, अविनाश बोहोरा, आरिफ शेख, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र विनोद भण्डारीजस्ता खेलाडी छन्।
त्यस्तै, टोलीमा हेमन्त धामी, हिक्मत महरा, हैदर अली, मिलन बोहरा, टेकबहादुर रावत, अनिल खरेल, सचिन भट्ट, शेरफन रदरफोर्ड, टेकराज थलाल, आयुव चन्द, दीपक बोहरा र फेबियन एलेन पनि समावेश छन्।
रोहितको कप्तानीमा लुम्बिनी लायन्स
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्समा रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, शेर मल्ल, डार्सी सर्ट, शमिम हुसेन, शाड्ली भान शाकवाइक र निरोशन डिक्वेलाजस्ता खेलाडी छन्।
त्यसैगरी, टोलीमा दिनेश अधिकारी, अभिषेक गौतम, तिलक राज भण्डारी, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, दुर्गेश गुप्ता, आकाश त्रिपाठी, अरनिको यादव, अजय चौहान र करण घर्तीमगर पनि रहेका छन्।
अघिल्लो संस्करणको उपाधि जितेको लुम्बिनी यसपटक पनि विजयी सुरुआत गर्ने लक्ष्यमा हुनेछ। उता, सुदूरपश्चिम भने उद्घाटन खेल जित्दै अघिल्लो फाइनलको हारको बदला लिने प्रयासमा रहनेछ। त्यसैले एनपीएलको पहिलो खेलमै दुवै टोलीबीच प्रतिस्पर्धात्मक भिडन्त हुने अपेक्षा गरिएको छ।






