बिहीबारसम्म वर्षा र हिमपातको सम्भावना, मौसममा बदली हुने

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । पहाडी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मङ्गलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार राति देशभर आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, बुधबार देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

बिहीबार भने वर्षा र हिमपातको सम्भावना बढ्ने देखिएको छ । देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।