ढाका– बङ्गलादेशमा डेङ्गु सङ्क्रमण तीव्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा दुई हजार २४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्या यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका डेङ्गु सङ्क्रमितको सबैभन्दा उच्च हो।
बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार आइतबार स्थानीय समय बिहान ८ बजेसम्मको २४ घण्टामा डेङ्गुका कारण थप सात जनाको मृत्यु भएको छ।
महानिर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष देशभर डेङ्गु सङ्क्रमितको कुल सङ्ख्या एक लाख २३ हजार ९४८ पुगेको छ। त्यस्तै, डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ३८४ पुगेको छ।
तथ्याङ्कअनुसार अक्टोबरमा मात्रै डेङ्गुका कारण १३९ जनाको मृत्यु भएको छ। यसअघि सेप्टेम्बरमा १४८, अगस्टमा ४३, जुलाईमा ३६ र जुनमा १३ जनाले ज्यान गुमाएका थिए।
बङ्गलादेशमा डेङ्गुलाई सामान्यतया मनसुन मौसममा फैलिने रोगका रूपमा लिइने गरिए पनि यस वर्ष जुनदेखि सेप्टेम्बरसम्मको अवधिभन्दा बाहिर पनि सङ्क्रमण फैलिरहेको छ। पछिल्लो समय सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्य क्षेत्रको चुनौती थपिएको छ।
यसैबीच, बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले डेङ्गु नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गर्न र रोकथामका प्रयासलाई प्रभावकारी बनाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले डेङ्गु नियन्त्रण अभियानमा सरकारलाई सहयोग गर्नसमेत आग्रह गरेका छन्।






