एनपीएलका लागि आठ सहरमा क्रिकेट रंगशाला निर्माण गरिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई ‘होम एन्ड अवे’ अवधारणामा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले देशका आठ प्रमुख सहरमा क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले एनपीएलको तेस्रो संस्करणको शुभारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै फ्लडलाइट सुविधासहित कम्तीमा ८ हजार दर्शक क्षमताका रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको जानकारी दिएका हुन्।

मन्त्री लम्सालका अनुसार प्रस्तावित रंगशालाहरू तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यी पूर्वाधार निर्माण भएपछि देशका विभिन्न सहरमा एनपीएलका खेल सञ्चालन गर्न सहज हुने सरकारको अपेक्षा छ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको विकास र एनपीएलको देशव्यापी विस्तारका लागि सरकारले आवश्यक पूर्वाधार निर्माणमा पहल गरिरहेको बताएका छन्।

‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ,’ मन्त्री लम्सालले भनेका छन्।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने विश्वास उनले व्यक्त गरेका छन्। साथै, योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

सरकारको यो योजनाले एनपीएललाई राजधानी केन्द्रित प्रतियोगिताबाट देशका विभिन्न सहरमा विस्तार गर्न तथा नेपाली क्रिकेटको पूर्वाधार विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।