काठमाडौं– काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष स्विप अपरेसनमा ७५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ६० पुरुष र १४ महिला रहेका छन् भने अन्य एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, आपराधिक गतिविधि रोकथाम गर्ने तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी अभियान सञ्चालन गरिएको हो ।
प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ ।
अभियानका क्रममा सार्वजनिकस्थल तथा यातायातमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता कार्यमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना कसुरदार पक्राउ परेका छन् । अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी अदालतबाट सजाय तोकिएका तथा मुद्दामा फरार रहेका गरी १२ जना पक्राउ परेको परिसरले जनाएको छ ।
प्रहरीका अनुसार सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनु अभियानको मुख्य उद्देश्य हो ।
विशेषगरी सार्वजनिक यातायात, भिडभाड हुने क्षेत्र तथा सेवाग्राहीको बढी उपस्थिति रहने स्थानमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणमा प्रहरीले प्राथमिकता दिएको छ ।
पक्राउ परेका व्यक्तिहरूको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।





