शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हित संरक्षणका विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र नेपाली विद्यार्थीले भोग्न सक्ने समस्याको समाधानका विषयमा कुराकानी भएको हो।

भेटका क्रममा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र अध्ययनका क्रममा आइपर्ने समस्याको समाधानका लागि सहजीकरण गर्ने विषयमा छलफल भएको थियो।

नेपाली विद्यार्थीका लागि साइप्रस उच्च शिक्षा अध्ययनको गन्तव्य मुलुकमध्ये एक रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउने विषयमा पनि दुवै पक्षबीच विचारविमर्श भएको थियो।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताए।

उनले विगतमा त्रिभुवन विश्वविद्यालयमार्फत हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी दिँदै यस प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउन आवश्यक नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे।

भेटमा राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरे।

दुवै पक्षले उच्च शिक्षाको क्षेत्रमा विद्यमान सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए।