एनपीएल : सुदूरपश्चिम र पोखरा भिड्दै, इतिहास बदल्ने लक्ष्यमा पोखरा एभेन्जर्स

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखरा एभेन्जर्स सुदूरपश्चिम रोयल्ससँग दुवै खेलमा पराजित भएको थियो । त्यसैले आजको खेलमा पोखरा विगतको नतिजा बदल्दै जित निकाल्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम आफ्नो पुरानो दबदबा कायम राख्दै प्रतियोगितामा अघि बढ्न चाहन्छ ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । टोलीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहोरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल रहेका छन् ।

सुदूरपश्चिमले विदेशी खेलाडीका रूपमा शेरफेन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेनलाई टोलीमा समेटेको छ ।

यता, पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन् । पोखराको टोलीमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदीप अर्याल, विवेक रानामगर, सन्नी विक, प्रतीक पोखरेल र विपिन आचार्य छन् ।

पोखराले विदेशी खेलाडीका रूपमा शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनञ्जय लक्षणलाई टोलीमा राखेको छ ।

आठ टोली सहभागी प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ ।