चक्रवाती आँधी अर्नबका कारण हवाई उडानमा उच्च सतर्कता

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शक्तिशाली चक्रवाती आँधी अर्नबको सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको यो आँधीको प्रभाव नेपालमा समेत पर्न सक्ने भन्दै प्राधिकरणले सरोकारवाला निकायलाई सुरक्षा परिपत्र जारी गरेको हो।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म नेपालमा मध्यमदेखि भारी वर्षा, तीव्र हावाहुरी, चट्याङ र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। यसको असर विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिन सक्ने र कर्णाली तथा सुदूरपश्चिमका केही भागमा समेत पर्न सक्ने बताइएको छ।

प्रतिकूल मौसमका कारण भिजिविलिटी कम हुने, धावनमार्गमा पानी जम्ने र विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै क्यानले हवाई सेवा प्रदायक र विमानस्थल सञ्चालकलाई आवश्यक तयारी गर्न भनेको छ। प्राधिकरणले हवाई ट्राफिक नियन्त्रकहरूलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, उडान मार्ग परिवर्तन वा होल्डिङको व्यवस्था गर्न र विमान चालकहरूलाई विन्ड सियरसम्बन्धी जानकारी तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ।

त्यस्तै, वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, पर्याप्त इन्धन राख्न र वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थाका लागि तयार रहन भनिएको छ। विमानस्थलका बत्ती तथा सञ्चार प्रणालीलाई नियमित सञ्चालनमा राख्न र धावनमार्गको अवस्थाबारे निरन्तर निरीक्षण गर्न पनि क्यानले ध्यानाकर्षण गराएको छ।