चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आजदेखि भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागले कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आवश्यक छ । चक्रवातको प्रभावका कारण आजदेखि मौसममा थप परिवर्तन आउने र जनजीवन प्रभावित हुन सक्ने विभागले जनाएको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।

कोसी र वाग्मती प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ । मधेस प्रदेशसहित कोसी र वाग्मतीका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ ।

राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा बादल लाग्नेछ । ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

शनिबारसम्म चक्रवातको प्रभाव रहने

पश्चिममध्य बंगालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको चक्रवात क्रमशः कमजोर हुँदै बिहीबार बिहानसम्म ‘डीप डिप्रेसन’मा परिणत हुने सम्भावना रहेको विभागले जनाएको छ ।

चक्रवातको प्रभावका कारण बुधबारदेखि नै नेपालको मौसममा बदली देखिन थालेको छ । आजदेखि यसको प्रभाव थप स्पष्ट हुने र शनिबारसम्म विभिन्न प्रदेशमा वर्षा तथा हिमपातको सम्भावना रहने विभागको पूर्वानुमान छ ।

यसअघि विभागले कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने चेतावनी जारी गरेको थियो ।

कृषि कार्य र हिमाली यात्रामा सतर्कता अपनाउन आग्रह

सम्भावित वर्षाका कारण कृषि क्षेत्रमा क्षति पुग्न सक्ने भएकाले विभागले शनिबारसम्म धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न किसानलाई आग्रह गरेको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । पर्यटकलाई उच्च हिमाली क्षेत्रमा भ्रमण नगर्न र त्यहाँ पुगिसकेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

वर्षाका कारण चिसो बढ्नुका साथै जोखिमयुक्त क्षेत्र र सडक आसपास पहिरो जान सक्ने सम्भावना पनि रहेको छ । यसबाट सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै दैनिक जनजीवनमा समेत असर पर्न सक्ने विभागले जनाएको छ ।

सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न, मौसमसम्बन्धी सूचनामा ध्यान दिन र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।