दसैँमा २० हजार बढी पर्यटकले घुमे चितवन राष्ट्रिय निकुञ्ज

चितवन । दसैँको अवसरमा २० हजार ८७ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएपछि दसैँका समयमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार दसैँका अवसरमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना तेस्रो मुलुकका र ८३१ जना सार्क राष्ट्रका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गरेका छन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न पर्यटक आकर्षित हुने गरेका छन् । यसपटक निकुञ्ज सफारीका क्रममा दुर्लभ पाटेबाघसमेत देखिएपछि पर्यटकको आकर्षण थप बढेको छ ।

दसैँका समयमा निकुञ्ज भ्रमण गर्ने पर्यटकबाट एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार नेपाली पर्यटकबाट १७ लाख ८३ हजार ६५० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकबाट आठ लाख ३१ हजार रुपैयाँ र तेस्रो मुलुकका पर्यटकबाट एक करोड ४७ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

वर्षायाममा निकुञ्जभित्र जिप सफारी बन्द रहने भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा जिप र हात्ती सफारी नियमित सञ्चालन हुने गर्छन् । निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा गरी कुल ७४ वटा जिप सञ्चालनमा छन् ।

यी जिपमार्फत पर्यटकले निकुञ्जभित्रका वन्यजन्तु तथा प्राकृतिक सौन्दर्यको अवलोकन गर्ने गरेका छन् । दसैँको समयमा पर्यटकको उल्लेख्य उपस्थितिले निकुञ्जको पर्यटन गतिविधि थप चलायमान बनेको छ ।