मेची– मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माण कार्यले गति लिन नसकेपछि ठेक्का सम्झौता तोडिएको हो।
२७ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ९.५ किलोमिटर लामो सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दासमेत आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा मात्रै सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको इलाम सडक डिभिजनका अनुसार पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै भौतिक प्रगति भएपछि ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको हो।
सडक डिभिजनले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ। त्यसैगरी, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको डिभिजनले जनाएको छ।
ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणलाई निरन्तरता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ। त्यसका लागि आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढाइने सडक डिभिजनले जनाएको छ।






