सोमपालको पहिलो अर्धशतकमा कर्णाली याक्सको लगातार दोस्रो जित, विराटनगर ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई रोमाञ्चक रूपमा पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले विराटनगरले दिएको १८७ रनको लक्ष्य अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो।

कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रन बनाए। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। गुल्सन झा २१ बलमा २८ रन बनाएर अविजित रहे। यी दुईले सातौँ विकेटका लागि ६४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै कर्णालीलाई जित दिलाए।

अन्तिम ओभरमा कर्णालीलाई जितका लागि ८ रन आवश्यक थियो। पहिलो बलमा सोमपालले एक रन लिए भने गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन जोडे। चौथो र पाँचौँ बलमा सोमपालले लगातार दुई-दुई रन लिएपछि कर्णालीले एक बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। यसक्रममा विराटनगरका लोकेश बमले गुल्सनको क्याच छाडेका थिए।

कर्णालीले सुरुवातमै लगातार विकेट गुमाएपछि दबाबमा परेको थियो। मार्क वाट एक, अक्बर अली एक र हुसेन तलत शून्य रनमा आउट भए। दीपक डुम्रेले २० तथा अरिफुल इस्लामले ३२ रन बनाए।

त्यसपछि सोमपाल र पवन सर्राफले छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए। पवनले २८ बलमा ३६ रन बनाए। बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए भने चरिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो। उसका लागि ओपनर लोकेश बमले सर्वाधिक ८७ रनको योगदान दिए। उनले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गरे।

लोकेश एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसरबाट १३ रनले चुके। उनी १६औँ ओभरको पाँचौँ बलमा कर्णालीका कप्तान सोमपाल कामीको बलमा आउट भए। उनले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए।

एन्जेलोले २२ बलमा ३१ रन बनाए। आन्द्रे रसेलले १५ बलमा २७ रन जोडे भने बसिर अहमदले १३ र सुजन थपलियाले अविजित रहँदै योगदान दिए। ओपनर इम्रान शेख पाँच, चरिथ असलंका तीन र शेहान जयसूर्या ११ रनमा आउट भए।

कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। उनले चार ओभरमा ३३ रन खर्चिएर लोकेश बम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गरे। मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए।

एनपीएलमा शुक्रबार कुनै खेल राखिएको छैन।