काठमाडौं । सरकारी डिजिटल सेवा प्लेटफर्म ‘नागरिक एप’ मा देखिएको ओटीपी (एकपटक प्रयोग हुने पासवर्ड) नआउने समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै एपबाट लगआउट भएका प्रयोगकर्ताले अब सहजै पुनः लगइन गर्न सक्ने भएका छन् ।
प्रोग्रामिङ ल्याङ्ग्वेज ‘पीएचपी’मा गम्भीर सुरक्षा कमजोरी देखिएपछि केही दिन नागरिक एपको सेवा पूर्ण रूपमा बन्द गरिएको थियो । एप पुनः सञ्चालनमा आए पनि प्रयोगकर्ताको मोबाइल नम्बरमा ओटीपी नआउने समस्या देखिएको थियो । त्यस्तै, इमेलमा ओटीपी प्राप्त भए पनि उक्त कोडले काम नगरेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए ।
सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका सुवास ढकालले बुधबारसम्म समस्या समाधान गर्ने बताएका थिए । हाल गरिएको परीक्षणमा मोबाइल नम्बर र इमेल दुवैमा ओटीपी सहज रूपमा प्राप्त हुन थालेको र लगइन प्रणालीले प्रभावकारी रूपमा काम गरिरहेको पाइएको छ ।
यद्यपि, लगइनसम्बन्धी समस्या समाधान भए पनि नागरिक एपका केही सेवा तथा सुविधामा प्राविधिक समस्या अझै कायम छन् । हाल एपमा राष्ट्रिय परिचयपत्र लिंक गर्न सकिएको छैन भने नागरिकताको विवरणसमेत देखिएको छैन ।






