जनकपुरधाम । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा रेल सेवा उद्घाटन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको हो।
‘प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ,’ पराजुलीले भने, ‘यस विषयमा नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ।’
यद्यपि, रेल सेवा उद्घाटनको औपचारिक मिति भने तय भइसकेको छैन। प्रधानमन्त्री शाहले आगामी मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरेका छन्।
रामायण सर्किटअन्तर्गत जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीबारे दुवै देशका अधिकारीबीच छलफल भइरहेको पराजुलीले बताए। उनका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ।
केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारी सम्मिलित टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो।
जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालन भएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई रेल सेवामार्फत जोड्दा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए।
उनका अनुसार यसले धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धनसँगै दुवै देशका सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउनेछ।
हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। प्रस्तावित विशेष रेल सेवाले जनकपुरधाम र अयोध्याबीचको धार्मिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।





