मिठाइलाई लेबलिङ गरेर मात्र बेच्न आग्रह

नेपालगञ्ज – नेपालगञ्ज आसपासका बजारमा सञ्चालित मिठाइ व्यवसायीलाई उत्पादनमा आवश्यक विवरण उल्लेख गरी लेबलिङ गरेर मात्रै मिठाइ बिक्री गर्न आग्रह गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विषयमा मिठाइ तथा होटल व्यवसायीसँग आयोजित अन्तरक्रियामा मिठाइको नाम, प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल तथा घ्यूको प्रकार, उपभोग्य मिति र मूल्यसूची स्पष्ट रूपमा उल्लेख गर्न व्यवसायीलाई अनुरोध गरिएको हो।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले म्याद नाघेका खाद्य सामग्री भण्डारण नगर्न व्यवसायीलाई निर्देशन दिँदै अनुगमनका क्रममा कैफियत भेटिए कारबाही गरिने चेतावनी दिए।

उनले मिठाइ पसलमा फोहोर तथा खानेपानी व्यवस्थापनको विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै सम्बन्धित विभागले जारी गरेका निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका प्रमुख सुमन धितालले मिठाइ व्यवसायीलाई आगामी सोमबारभित्र उत्पादनमा लेबल राख्न समयसीमा निर्धारण गरिएको जानकारी दिए। तोकिएको समयभित्र लेबलिङ नगरे कारबाही गरिने उनको भनाइ थियो।

उनले नेपालगञ्जको राबडीले जस्तै यहाँका अन्य मिठाइले पनि राष्ट्रियस्तरमा ख्याति कमाउने विश्वास व्यक्त गरे। नेपालगञ्जस्थित द केक एण्ड बेकरीबाट लेबलिङको काम सुरु भइसकेको उनले जानकारी दिए।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रूपा ओझाले नेपालगञ्जमा दक्ष र अनुभवी मिठाइ व्यवसायी भए पनि व्यवसाय अझै परम्परागत शैलीमा सञ्चालन भइरहेको बताइन्। मिठाइमा आवश्यक विवरणसहित लेबल राखेर बिक्री गर्दा व्यवसायीको प्रतिष्ठा बढ्नुका साथै उपभोक्ताको विश्वाससमेत वृद्धि हुने उनको भनाइ थियो।

अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विषयमा जानकारी गराउँदै यससम्बन्धी कानुनी व्यवस्थाबारे प्रस्ट पारे।

त्यसैगरी खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले विगतको तुलनामा मिठाइ पसलहरूको अवस्थामा सुधार आएको उल्लेख गर्दै सरसफाइ र फोहोर व्यवस्थापनमा थप ध्यान दिन व्यवसायीलाई आग्रह गरिन्।

मिठाइ व्यवसायी अतुलकुमार गुप्ताले सरकारले निर्धारण गरेको मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित हुने बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइ उत्पादकले प्रयोग गरेका कच्चा पदार्थ, तिनको मिश्रणलगायतका विवरण उपभोक्ताले सहजै देख्न सक्ने गरी उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्न गत कात्तिक ११ गतेदेखि नै सूचना जारी गरेको थियो। उक्त व्यवस्थाले मिठाइको गुणस्तर र खाद्य सुरक्षामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ। रासस